न्यूज डेस्क | बैशाख १६, २०८३ बुधबार
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटको वृन्दावन नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ।
मंगलबार वृन्दावन नगरपालिका–स्थित हर्षाहा बगैचामा आयोजित नगर भेलाबाट सर्वसम्मत रूपमा तदर्थ समिति गठन गरिएको पार्टी संगठन विभागका केन्द्रीय सदस्य उदय नारायण सापकोटा ले जानकारी दिए।
नगर अधिवेशनले मोहम्मद खालिदको सभापतित्वमा नयाँ तदर्थ समिति गठन गरेको छ। समितिको उपसभापतिमा राजेन्द्र राउत कुर्मी, सचिवमा मनोज यादव तथा सह–सचिवमा राम वालक साह चयन भएका छन्। यसका साथै अन्य सदस्यहरू सहित १३ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
त्यसैगरी पार्टीले रैट RAT प्रमुखको जिम्मेवारी इन्द्रजित यादवलाई तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सुमन पटेललाई प्रदान गरेको छ। नवगठित समितिलाई संगठन सुदृढीकरण, पार्टी विस्तार तथा स्थानीय तहमा प्रभावकारी राजनीतिक गतिविधि सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी दिइएको बताइएको छ।
नगर अधिवेशन कार्यक्रममा रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गणेश पौडेल, जिल्ला सभापति प्रदीप साह, जिल्ला सदस्य अजय कुमार साह, चन्द्रपुर नगर सभापति अरुण लामा तथा नगर सचिव मुकुन्द पौडेल लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा स्थानीय स्तरमा सुशासन र वैकल्पिक राजनीतिक अभ्यासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रास्वपाले पछिल्लो समय रौतहट जिल्लामा संगठनात्मक गतिविधि तीव्र बनाउँदै स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ। नवगठित तदर्थ समितिले नगरस्तरमा पार्टीलाई सक्रिय र सशक्त बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।