न्यूज डेस्क | जेठ ३, २०८३ आइतबार
रौतहट । जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली स्थानीय नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि जिल्लाको राजनीतिक वृत्त तातिएको छ ।
जनकपुरमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बृन्दावन नगर सभापति अरबिन्द सहनी, कांग्रेस जिल्ला सदस्य धिरज मिश्रा, तरुण दल क्षेत्रीय सभापति अबुलैस अंसारी, नेकपा एमाले मधेश प्रदेश समिति सदस्य प्रेमशंकर यादव, बृन्दावन नगरपालिका वडा नं. ६ का वडा प्रत्याशी शेख खैरुल्लाह, एमाले रौतहट जिल्ला कमिटी सदस्य दिपेन्द्र साह, एमाले नेता नागेन्द्र प्रसाद यादव, सुनिल यादव, रामकल्याण यादव, बृन्दावन नगरपालिकाका वडा सदस्य बिरेन्द्र यादव लगायतका नेताहरूले सामूहिक रूपमा पार्टी त्याग गरेका हुन्।
उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा ले पार्टीको लोगो प्रदान गर्दै औपचारिक रूपमा रास्वपा प्रवेश गराएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टीका रौतहट जिल्ला उपाध्यक्ष मदन सापकोटा सहित विभिन्न दलका स्थानीय नेता–कार्यकर्ताको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले परम्परागत दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार, गुटबन्दी तथा विकासप्रतिको उदासीनताका कारण आफूहरू नयाँ राजनीतिक विकल्प रोज्न बाध्य भएको बताएका छन्।
नवप्रवेशी नेताहरूले अब रौतहटमा वैकल्पिक राजनीति सुदृढ बनाउने, सुशासन, पारदर्शिता र विकासमुखी अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जनताको विश्वास जित्ने गरी रास्वपाको संगठन विस्तारलाई गाउँ–टोलसम्म लैजाने योजना समेत सार्वजनिक गरेका छन्।
रास्वपा नेतृत्वले रौतहटमा बढ्दो जनसमर्थनले पुराना दलप्रति जनअसन्तुष्टि बढिरहेको संकेत गरेको बताउँदै आगामी निर्वाचनमा जिल्लामा नयाँ राजनीतिक शक्ति स्थापित हुने दाबी गरेको छ।
यस सामूहिक प्रवेशलाई राजनीतिक विश्लेषकहरूले रौतहटको स्थानीय राजनीतिमा ठूलो सन्देशका रूपमा लिएका छन्। आगामी दिनमा दलगत शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ।

