न्यूज डेस्क | जेठ १७, २०८३ आइतबार
रौतहट । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं महिला उद्यमी समिति मधेस प्रदेशको तेस्रो महाधिवेशन सम्पन्न भएको छ।
मधेस प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जयकुमार घिमिरेको प्रमुख आतितथ्यतामा सम्पन्न भएको उक्त अधिवेशन "उद्योग गरौँ आत्मनिर्भर बनौँ" भन्ने मूल नाराका साथ सम्पन्न भएको हो।
शनिबार भएको उक्त अधिवेशनमा प्रमुख अतिथि घिमिरेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा मधेस प्रदेश अन्तर्गत रहेका आठवटै जिल्ला समितिको अध्यक्ष,सचिव,कोषाध्यक्ष लगायत अन्य प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। मधेस प्रदेश स्तरीय कार्यक्रममा समितिको सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रमलाई मधेस प्रदेशका अध्यक्ष सत्यनारायण अग्रवालले अध्यक्षता प्रदान गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले महासंघ नेपाल सरकारको अर्थतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउदै साना तथा मझौला उद्योगी र उद्यमीलाई सहजीकरण गरी बजेट ल्याउन मधेस प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समक्ष अनुरोध गर्दै मन्त्रालयले आगामी बजेटमा उधमीहरुलाई प्राथमिकतामा राख्न सुझाब समेत गरेका थिए।
सङ्घीय सरकार मातहतका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्दा महासंघलाई पनि सहभागी गराई गर्दै आइरहेको बताउदै उक्त अनुरोधलाई सर्व स्वीकार गर्दै आउने बजेटमा साना उद्योग तथा उद्यमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता सचिब घिमिरेले गरेका छन् ।
आगामी दिनमा मन्त्रालयले सम्बन्धित कुनै पनि कार्यक्रम गर्दा नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं महिला उद्यमीलाई अनिवार्य सहभागिता गराइने उनको भनाई रहेको छ । नयाँ नेतृत्व चयनको लागी महासङ्घलाई शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि घिमिरे बिदा हुदै नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।
अधिवेशनबाट मधेस प्रदेश समितिको अध्यक्षमा खगेन्द्र कुमार सिंह, उपाध्यक्ष नवीनकुमार यादव ,सचिव लवकुमार सिंह, कोषाध्यक्ष दिव्यनाथ श्रेष्ठ सहित २५ जनाको समिति गठन गरिएको छ।
यसैगरी महिला उद्यमी तर्फ अध्यक्षमा उर्मिला थापा, उपाध्यक्ष बबिता खनाल, महासचिव जुली श्रेष्ठ, कोषाध्यक्ष सावित्री कुस्वार सहित २५ जनाको समिति गठन भएको हो।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको होटल हिमालयनमा भएको प्रदेश अधिबेशनमा रौतहट जिल्ला समितिको समन्वय तथा सहकार्यमा जिल्ला अध्यक्ष बलिराम साह, सचिव सन्तलाल कुमार पासवान लगायत महिला उद्यमी समितिका अध्यक्ष गंगा खड्का, साबित्री कुश्वार तथा निर्मला थापाको सक्रियतामा सम्पन्न भएको आयोजकले बताएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि महासङ्घको केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंह, बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाईं, गण्डकी प्रदेशका अध्यक्ष महाप्रसाद सुवेदी,घरेलु तथा साना उद्योग कार्यालय रौतहटकी कार्यालय प्रमुख रिङ्की कुमारी जयसवाल लगायत विभिन्न निकायबाट प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।