एजेन्सी | भदौ २९, २०७८ मंगलबार

तालिबानले महिला विद्यार्थीका लागि नयाँ नियमको घोषणा गरेको छ । नयाँ नियम अनुसार महिला र पुरुष सँगसँगै बसेर पढ्न पाउने छैनन् । तालिबानले विश्वविद्यालयलाई लिंगको आधारमा विभाजन गरिने र पोषाक सम्बन्धी नयाँ नियम लागु गरिने बताएको छ ।
 
उच्च शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले महिलालाई पनि अध्ययन गर्न अनुमति दिने संकेत गरेका छन्, तर पुरुषसँगै बसेर होइन । उनले विद्यार्थीलाई अध्यापन गरिने विषयहरूको बारेमा समीक्षा गरिने पनि घोषणा गरेका छन् । 

तालिबानले पहिलो पटक १९९६ देखि २००१ सम्म सत्ता सम्हाल्दा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो । 



पहिलोपटक सत्ता सम्हाल्दा महिलालाई अध्ययनबाट बञ्चित गरेको तालिबानले यसपटक भने अध्ययन गर्न दिन लागेको हो । तर, यसअघि महिलाका लागि पोषाक सम्बन्धी छुट्टै नियम थिएन भने पुरुषसँग एउटै कक्षामा अध्ययन गर्न पाउँथे । बीबीसी