एजेन्सी | मंसिर १४, २०७८ मंगलबार

नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का निवर्तमान सभापति राम स्नेही यादवले १४औँ महाधिवेशनमा  क्षेत्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार कांग्रेसका युवा नेता समेत रहेका यादवले रौतहट क्षेत्र नं. ४ को सभापतिमा उम्मेदवारी दिएको बताएका हुन् ।



‘कांग्रेसको संगठन निर्माण, जनताको आवश्यक्तालाई ध्यान दिएर १४औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको हुँ, उनले भने, ‘पार्टीका शीर्ष नेताहरू, आफ्नो क्षेत्रका नेता कार्यकर्ताहरूको परामर्शमा सभापतिमा उम्मेदवारी दिन लागेको छु ।’

यादवले क्षेत्र नं. ४ मा आफूले सभापतिको जिम्मेवारी सम्हालिसकेको अनुभव प्राप्त एबम् सबैलाई समेट्न सक्ने नेताको रूपमा छवि बनाएका उनले आफ्नो क्षेत्रमा कांग्रेसलाई हरेक निर्वाचन जिताउन महत्वपूर्ण भूमिका निभाएका सफल नेता मानिन्छन् । उनले संघीय निर्वाचन क्षेत्र नं ४’को सभापतिमा रहेर कांग्रेसको संगठन निर्माणमा काम गर्ने बताएका छन् । उनले १४औँ महाधिवेशनबाट क्षेत्रीय सभापति भएर पूरा अवधि काम गर्ने बताएका छन् ।

लोकतान्त्रिक पार्टीमा निर्वाचन एउटा प्रक्रिया मात्र भएको हुँदा निर्वाचनलाई लिएर कोहीपनि हतोत्साहित नहुने र यसले झन् आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउने उनको भनाई रहेको छ ।

नेता यादवले १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूलाई असल नेतृत्वलाई मतदान गर्न अपील पनि गरेका छन् । उनले असल र इमान्दार एबम् पार्टी प्रति वफादार नेता पार्टीको नेतृत्वमा पुग्यो भने मात्रै कांग्रेस बलियो हुने बताउँछन् ।

चारवटा प्रतिनिधि सभा क्षेत्र रहेको रौतहटमा क्षेत्र नं १,२,३ मा भने यसअघि नै क्षेत्रीय अधिवेशन सर्वसम्मत चयन भई सकेको छ भने क्षेत्र नंबर ४ मा संघीय प्रतिनिधि सहित प्रदेश सभा (क) र (ख) मा प्रतिनिधि चयनका लागि बुधबार निर्वाचन हुँदैछ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षका प्रेम शंकर यादव र इतर पक्षका राम स्नेही यादव बीच तिब्र प्रतिस्पर्धा रहेको छ ।