प्राइम खबर संबाददाता | पुस ३०, २०७८ शुक्रबार

त्रिवि शिक्षण अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका डाक्टर र नर्सहरुको जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले बताए । अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको परीक्षण गरिएको थियो ।
एकैपटक ठूलो संख्यामा पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने निर्देशक बताउँछन् ।



चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी समेत अस्पतालको रहेको छ । पछिल्लो समय संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।