प्राइम खबर संबाददाता | माघ ३, २०७८ सोमबार

रौतहटमा जारी एमालेको ९ औँ जिल्ला अधिवेशन आईतबार विवाद र विरोधका बीच अबेर सम्पन्न भएको छ ।

नेकपा (एमाले), रौतहटको ऐतिहासिक ९ औं जिल्ला एकता अधिवेशन नाम दिएको भएतापनि गुटको अधिवेशन स्वरूप झल्कने गरी एकपक्षिय रूपमा पदाधिकारी चयन गरिएको असन्तुष्ट एमाले नेताले बताएका छन् ।



उक्त अधिवेशनबाट अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की,  सहसचिवमा पलट चौधरी र रुपेश पटेल सहित एकसय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसहमत रुपमा चयन भएको सहसचिव पलट चौधरीले बताए ।

रौतहटका पुराना एमाले नेता तुलसी प्रसाद गिरी र माओवादीबाट हालसालै एमालेमा प्रवेश गरेका त्रिभुवन साहमा कसले बाजी मार्ला भन्ने उत्सुकता रहेको एमाले कार्यकर्तामा अन्ततः साहले नै बाजी मारेका छन् । नव निर्वाचित अध्यक्ष साह पूर्व मन्त्री प्रभु साहको खास मानिन्छन् । अघिल्लो संसदीय निर्वाचन माओवादी केन्द्रबाट निर्वाचित भएका पूर्व मन्त्री साह हाल नेकपा एमालेमा सक्रिय रूपले लागि परेका छन् । उनी पार्टीको स्थायी कमिटी सदस्य समेत हुन् ।जिल्ला एमालेमा आफ्नो प्रभाव स्थापित गर्न आफू सँगै माओवादीबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई एमालेको जिल्ला कमिटीमा महत्वपूर्ण स्थान दिन कम्मर कसेर लागेका अन्ततः उनी सफल भएका छन् ।

रौतहटको कतहरियमा भएको एमाले जिल्ला अधिवेशन गर्न नेता साहले आफ्नो निर्वाचन क्षेत्र नै रोजेका थिए । अधिवेशन बाट नेतृत्व छनौटको विषयलाई लिएर पूर्वमन्त्री साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै असन्तुष्ट एमाले नेता कार्यकर्ताले चर्को नाराबाजी सहित बिरोध समेत व्यक्त गरेको स्रोतले बताएको छ ।