प्राइम खबर संबाददाता | जेठ १०, २०७९ मंगलबार

रौतहटको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित मेयर सञ्जय कुमार काफ्लेले सोमबार सपथ ग्रहण पश्चात पहिलो बैठकबाट स्वास्थ्य क्षेत्रमा विशेष जोड दिँदै सरकारी अस्पतालको स्तरोन्नति गराउने निर्णय गरेका छन् ।

मेयर लगायतका जनप्रतिनिधिले सोमबार शपथग्रहण गरे लगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर काफ्लेले नगरपालिकाको बैठकमा सो निर्णय गरिने घोषणा गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल मार्फत अस्पताल लाई आबस्यक पर्ने भिडियो एक्सरे, एक्सरे र ईसीजी मेसिन तत्काल खरिद गर्न आदेश समेत दिएका छन् । लामो समयसम्म अस्त व्यस्त अवस्थामा रहेको सरकारी अस्पतालको सुधारको निम्ति गरिएको घोषणाले स्थानीय निकै खुसी भएका थिए।



 मेयर सञ्जय काफ्लेले चन्द्रपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य र सरसफाइलाई विशेष प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन् । मेयर काफ्लेले जिल्ला न्यायाधीश काजीबहादुर राईसँग शपथ लिएपछि नवनिर्वाचित उपमेयर जयमाला चौधरी , वडाध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । चन्द्रपुर नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा निवर्तमान जन प्रतिनिधिहरूलाई विदाई तथा नव निर्वाचित जन प्रतिनिधिहरुलाई आयोजक चन्द्रपुर नगरपालिकाले स्वागत कार्यक्रम गरेको थियो।