प्राइम खबर संबाददाता | भदौ ३१, २०७९ शुक्रबार
मधेस कै ठूलो नगरपालिकाका रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्रको स्थापना हुन नसक्दा स्थानीय व्यापारीहरू मर्कामा पर्ने गरेका छन् ।
जिल्लाको उत्तरीभेगका चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका गरी करिब ७ हजारभन्दा बढी ठूला तथा साना व्यवसायीहरु ४२ किलोमिटरको लामो यात्रा गरेर जिल्ला सदरमुकाम गौर जान बाध्य रहेका छन् । लामो यात्रा तय गरेर दिनभरिको काम ठप्प पारी सदरमुकाम धाउनु पर्ने व्यापारीको समस्यालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्रको अति नै आवश्यक रहेको चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटा बताउँछन् । सेवा केन्द्र स्थापना नहुदा सो क्षेत्रका व्यापारीहरूले लामो समयदेखि सास्ती खेप्नु परेको अध्यक्ष सापकोटाको भनाइ रहेको छ ।
अन्य सम्पूर्ण सेवा सुविधा चन्द्रनिगाहपुरमा आइसकेको हुँदा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र यथाशीघ्र स्थापनाका लागि अध्यक्ष सापकोटाले पहल गर्दै आएका समेत छन् । यता, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सन्जय कुमार काफ्लेले पनि चन्द्रनिगाहपुरमा घरेलु तथा साना उद्योग कार्यालयको सेवा कार्यालय अति नै आवश्यकता रहेको बताए । उक्त कार्यालय स्थापनाका लागि नगरपालिकाको कार्यपालिकाको बैठकबाटै निर्णय गरेर अगाडि बढ्ने नगरप्रमुख काफ्लेको भनाइ छ । चन्द्रनिगाहपुर व्यापारीहरूको केन्द्रबिन्दु नै भइसकेको हुँदा सो कार्यालय यहाँ अति आवश्यक रहेको नगरप्रमुख काफ्ले बताउँछन्।
चन्द्रपुरमा ठूला उद्योगदेखि ससाना उद्योग खुल्ने क्रममा रहेको र छिमेकी जिल्लाको समेत व्यापारिक केन्द्र रहेको कारण पनि सेवा केन्द्र अति नै आवश्यक रहेको यहाँका स्थानीयहरु समेत बताउँछन् । सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना हुनेबितिकै वृन्दावन नगरपालिका, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिकालगायतका क्षेत्रका व्यापारीहरूले आफ्नो कामकाज गर्न सहजता पाउने अध्यक्ष सापकोटा बताउँछन् । पछिल्लो समय चन्द्रनिगाहपुरमा सेवाग्राहीको सुविधा लाई मध्यनजर गर्दै करदाता सेवा कार्यालय समेत सञ्चालनमा रहेको छ भने नापी र मालपोत कार्यालयले यस अघि नै सेवा प्रदान गर्दै आएका छन्।