प्राइम खबर संबाददाता | असोज २८, २०७९ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित पाँच दर्जन बढी नेता कार्यकर्ताले  पार्टी परित्याग गरेका छन्।

 

 

माओवादी पार्टीले  विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको र पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदै जाँदा निरंकुशता बढेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। 

शुक्रबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरेका हुन् ।पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोलेसहित,प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष रामबहादुर घलान, वाइसिएल मधेश प्रदेश कमिटी सदस्य विशाल जर्गा, वाइसिएल चन्द्रपुर नगर कमिटीका अध्यक्ष रमेश गोलेलगायत छन्। 

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माओवादीका मूख्य नेताहरुले पटक–पटक ठूलो गल्ती कमजोरिहरु दोहोर्याउँदै आईरहेको उल्लेख गरिएको छ ।

सामूहिक राजीनामापछि पत्रकारसँग कुरा गर्दै माओवादीका मधेश प्रदेश कमिटी सदस्य गोलेले आफूहरुले सत्ता गठबन्धनका नाममा खडा भएका उम्मेदवारलाई कुनै पनि सर्तमा सहयोग नगर्ने बताए ।

जिल्लाको क्षेत्र नम्बर ४ काे माओवादीमा पछिल्लो समय निकै गन्जागोल देखिएको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा माओवादी पार्टीकै कारण सहमति हुन नसकेकोले गर्दा समाजवादीले आफ्नो उम्मेदवार प्रदेश सभा सदस्यमा उठाउनु परेको बताउँदै आएको छ ।