न्यूज डेस्क | बैशाख ६, २०८१ बिहिबार

रौतहट । दश वर्षे शसस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादी एबम् सरकार पक्षबाट समेत चरम यातनाबाट पीडित बनेका चन्द्रपुर १ स्थित पौराई निवासी श्रीराम न्यौपानेले मुलुकमा लोकतन्त्र हुँदै संघीय गणतन्त्र आइसक्दा समेत न्याय नपाएको बताएका छन्।
नेकपा माओवादीले गरेको ससस्त्र द्वन्दका कारण उनीले ठूलो पीडा भोग्नुपरेको दुःख सुनाए । उनका अनुसार तत्कालीन विद्रोही पक्षबाट उनलाई शाररिक यातना, मानसिक यातना सँगै आफ्नो दुःख गरेर कमाएको सम्पत्ति समेत लुटपाट हुँदा बिचल्लीमा परेका थिए । सरकार पक्षलाई सघाएको भन्दै उनलाई विद्रोही माओवादीले चरम यातना दिएको क्षण सम्झदा आँखाभरि टिलपिल आशु अहिले पनि टुप्लुक्क चुहाउँछन । उनी आफू गिरफ्तारीमा समेत पटक पटक परेको बताउँछन्। 
सरकार र विद्रोही माओवादी बीचको विस्तृत शान्ति सम्झौता पश्चात द्वन्द्वपीडित हरुलाई न्याय दिलाउन बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा समेत उजुरी दर्ता गराएका उनी न्याय पाउने आशामा बसेको वर्षौं भइसक्यो तर उनको आशा निराशामा परिणत भएको बताउँछन । 
द्वन्द्वपीडित न्यौपानेले संक्रमणकालीन न्यायका लागि स्थापना भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पुर्नगठन गर्नुपर्ने समेत बताउँछन् । ०७१ साल माघमा गठन भएका दुई आयोगको कार्यकाल दुई वर्षको थियो । तेस्रोपल्ट म्याद थपेर दुई वर्षे अवधिको आयोगको अवधि चार वर्ष पुर्याउदै पटक पटक म्याद मात्र थप गर्ने मात्र काम भएको भन्दै आयोग प्रति उनले गुनासो गरेका छन् । उनले गएको ०७२ साल जेठ ११ गते आफ्नो उजुरी दर्ता गराएका थिए।
आयोगले पीडितलाई परिपूरण, क्षतिपूर्ति र पुनःस्थापनमा पठाउन सकेका छैनन् । अन्तिम क्षणमा पनि उजुरी लिने र केही फाइलको प्रारम्भिक अनुसन्धानमै सिमित भएको भन्दै पीडितको आक्रोश बढेको हो । पीडितलाई न्याय र दोषीलाई कारबाही सिफारिस मुख्य उद्देश्य दिइए पनि अहिलेसम्म समस्या यथावत रहेका कारण पीडितमा निरासा बढेको छ ।
द्वन्द्वका बेला राज्य तथा विद्रोही पक्षका ज्यादती र मानव अधिकार उल्लघंनका घटना छानबिन गरी यी कार्य भविष्यमा हुनबाट रोक्न, उल्लघंनकर्ता पहिचान गरी कारबाही गर्न, पीडितलाई परिपूरण र राहत साथै भविष्यमा त्यस किसिमको अधिकार दूरूपयोग हुन नदिन र पीडित र पीडकबीच मेलमिलाप कायम गर्ने आयोगका मुख्य जिम्मेवारी हुन् । तर आयोगको काममा विलम्ब हुनुले पीडितमा नैराश्यता उत्पन्न गराएको छ । उनी पौराईका न्यौपाने त द्वन्द्व पीडितका प्रतिनिधिमूलक पात्र हुन् देशका हजारौं श्रीराम न्यौपाने जस्ता पीडितहरुले न्यायको आशामा बसेका छन्।