प्राइम खबर संबाददाता | माघ २, २०७९ सोमबार

मंगलबार  नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ । सत्ता साझेदार दलहरुबीच आज बसेको बैठकले मंगलबार दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम तोकिएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

उनका अनुसार बैठकले कुन दलले कुन मन्त्रालय लिनेभन्ने विषय टुंगो लागेको छ । मंगलबार बिहान थप एक पटक छलफल गरेर नयाँ मन्त्रीहरु नियुक्त हुने र नयाँ मन्त्रीहरुको सपथ दिउँसो १ बजे हुने उनले जानकारी दिए । आज प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै ५ घण्टा मन्त्रीहरुको भागवण्डाबारे छलफल भएको हो । त्यस अघि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच ५ घण्टा छलफल भएको थियो । 

स्रोतका अनुसार एमालेले ८ वटा मन्त्रालय पाउने गरि मन्त्रालयको भागवण्डा टुंगिएको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ मन्त्री, राप्रपाले ३ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री पाउने समझदारी भएको छ । यी ३ दलले एक -एक पनि राज्यमन्त्री पाउने समझदारी भएको स्रोतको दाबी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने सम्भावना छ । सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको स्रोतले जनाएको छ।