प्राइम खबर संबाददाता | बैशाख १९, २०८० मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । भ्रष्टचारको फाइल खोल्ने र सरकारको साझा न्युनतम कार्यक्रम र प्राथमिकता पुनर्लेखनसमेत गर्ने सर्तसहित रास्वपा सरकारमा जान तयार भएपछि प्रचण्ड रविलाई गृहमन्त्री बनाउन तयार भएका हुन् ।

सोमबार गृहजिल्ला गएका प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेसँग आफ्नो कुरा भईसकेकाले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र रास्वपा सरकारमा सहभागी हुने बारे छलफल भईरहेको बताएका थिए । उनले भनेजस्तै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा पछी हट्नु र रास्वपाका सबैजसो नेताले पार्टी सरकारमा जानुपर्ने बताउनुले पनि अव रास्वपा शक्तिशाली मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको छ ।



यता रवि लामिछानेलाई गृह मन्त्रालय दिन अव अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कता सेटल गर्ने भन्ने विषयमासमेत प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका नेतासँग छलफल सुरु गरेका छन् । श्रेष्ठलाई फिर्ता बोलाएर वा अर्को कुनै मन्त्रालय दिएर भए पनि गृह रास्वपालाई गृह दिन प्रचण्ड तयार भएको देखिएको छ । गृह, स्वास्थ र अर्को एक मन्त्रालय रास्वपालाई दिनुपर्ने भन्दै प्रचण्डले सत्ता गठबन्धनसँग छलफल अघि बढाएका हुन् । कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय अहिले रिक्त छ ।

यसअघि सरकारबाट बाहिरिनुअघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो । तर प्रचण्डले गृह दिन नमानेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।