न्यूज डेस्क | बैशाख १०, २०८३ बिहिबार

रौतहट जिल्लाको मौलापुर नगरपालिकामा चरम बेथिति बढेको भन्दै मेयर विरुद्ध जनप्रतिनिधिले नै गम्भीर आरोप लगाएका छन्।


बिहीवार उपमेयर सहित निर्वाचित ६ जना वडा अध्यक्षहरुले मौलापुर १ मर्यादपुर बिहीवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी मेयर रिना कुमारी साह र उनको श्रीमान पूर्व मन्त्री प्रभु साहमाथी बिभिन्न आरोप लगाएका हुन्।



पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवले नगर प्रमुख साहको ईशारामा हालै आएका प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेशबाबु घिमिरेलाई भगाउन अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्। नयाँ प्रमुख घिमिरे गत शुक्रवार कार्यालयमा हाजिर भएका थिए। लगत्तै मेयर रिना कुमारी साहका छोरा बिवेक साहको नेतृत्वमा युवाहरुको टोली कार्यालयमा पुगेर फुटबल क्रिकेट प्रतियोगिता गराउन पैसा दिन अधिकृत घिमिरे माथी दवाब दिएका थिए। गत सोमवार सोही टोली पुनः कार्यालय पुगेर बिजुलीको महशुल भुक्तानी गर्न र छोरीको विवाहमा दिइँदै आएको आर्थिक सहयोग उपलब्ध गराउन अघिकृत घिमिरेलाई ज्ञापन पत्र बुझाएका थिए।



गत असार १० गते भएको नगरसभामा सम्पूर्ण नगरवासीको घरायसी प्रयोजनका लागि विद्युत महशुल भुक्तानी गर्न, छोरीको बिहेमा जनही ३० हजार रुपैयाँ सहयोग गर्न, मधानी महोत्सव लगायतको फजुल खर्च सहित नगरमा हुने बिकास निर्माणका सम्पूर्ण योजना समेटेर पारित गरिएको थियो। मेयर रिना कुमारी साह पहिलो पटक निर्वाचित भएदेखि मौलापुरमा यस्तै उपद्रो चल्दै आएको आरोप छ। उपमेयर यादवले भने नगरसभाको निर्णय लाई टेकेर यस अघिका निमित प्रमुख प्रशासकिय अधिकृत प्राबिधिक तर्फका  रामबाबु साह र लेखा अधिकृत जयप्रकाश महतो मिलेर २०७८ सालदेखी चेक काटेर सम्पूर्ण भुक्तानी गर्दै आएका छन्। 

बिना कार्यपालिका निर्णय, बिना उपमेयरको अनुगमन सबै भुक्तानी  दवाव र प्रभाबकै भरमा  भएकै थियो। अहिले विद्युत महशुल भुक्तानी, छोरीको बिहेमा दिइँदै आएको अनुदान रकम भुक्तानी हुनसकेको छैन। गाउँ गाउँ को नाला सफाई हुनसकेको छैन। पिकनिक पार्क, पार्क होटल, बहुउद्देश्यीय सभागृह सजावट मर्मत, बसपार्कको बिभिन्न काम देखाएर पछिल्लो ६ बर्ष देखी मनपरी भुक्तानी हुँदै आएको छ। जता जुन शीर्षकमा मेयरलाई फाईदा हुन्छ अधिकृत रामबाबु, लेखा अधिकृत जयप्रकाशले कमिशनको भरमा जथाभावी भुक्तानी गर्दै आएको उपमेयर नागेन्द्र यादवले पत्रकार सम्मेलनमा दाबी गरेका छन्। बिगत ६ वर्षदेखि उनीहरूको लागि कुनै नियम कानुन थिएन।

सबभन्दा ठूलो कुरा मौलापुर नगरपालिकाको सम्पूर्ण टेण्डर एउटै मानिस सुनिल साहलाई नै कसरी पर्छ उनले प्रश्न उठाएका थिए। अहिले विद्युत महशुल, छोरीको बिहेको अनुदान दिन किन आलटाल कहीँ सबै रकम अनियमितता त गरेको छैन उनले आशंका ब्यक्त गरेका छन। मलाई लाग्छ ई सबैको पछाडि नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेशबाबु घिमिरेलाई मौलापुरमा टिक्न नदिने षडयन्त्र भइरहेको छ। उनी फिर्ता गएपछि पुनः रामबाबु साहलाई निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर विगतकै जस्तो मनपरी गर्ने मेयर साहको नियत भएको आशंका ब्यक्त गरेका थिए।

वडा अध्यक्षहरुले स्थानीय तहको निर्वाचन हुन अब एकबर्ष मात्र बाँकी रहँदा मेयर रिना कुमारी साह र उनको श्रीमान पूर्व मन्त्री प्रभु साहले पुनः मौलापुरको मेयरमा आफ्नो मान्छे जिताउन अहिले देखिनै षडयन्त्रमा लागेको बताएका छन्। गत असार १० गरेको नगरसभा पछि साउनमा र गत मंसिरमा पार्क होटलमा नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो। उक्त बैठकमा पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी थिए। उनकै निर्देशनमा एउटै निर्णय पुस्तिकामा सोही समय चारवटा बैठकको उपस्थिति लेखियो र सम्पूर्ण कार्यपालिका सदस्य लाई त्यही सादा निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनियो। हामीले त्यसको बिरोध गर्यौं कि निर्णय लेख्नुस हामी हस्ताक्षर गर्छौं र बन्द गर्छौ भने।

तर प्रभु साहले भने जसलाई हस्ताक्षर गर्नुछ गर्नुस जसलाई ईच्छा छैन नगर्नुस। उनको भनाई पछि केही सदस्यले सादा निर्णय पुस्तिकामा हस्ताक्षर गरे तर हामी उपमेयर सहित ६ जना वडा अध्यक्षहरुले गरेनौँ। यस बिषयमा हामीले जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी पनि दिएका छौं तर हालसम्म कुनै कारवाही नभएको पत्रकार सम्मेलनमा वडा अध्यक्षहरुले बताएका छन्। सोही समय देखी नगरपालिकाले हालसम्म कार्यपालिकाको बैठक बोलाएको छैन र अहिले बिभिन्न सामाजिक सञ्जाल फेसबुकमा वडा अध्यक्ष र उपमेयरले सही नगर्दा विद्युत महशुल भुक्तानी, छोरीको बिहेको अनुदान भुक्तानी रोकिएको छ भनेर हामी विरुद्ध भ्रम फैलाउने काम भईरहेको छ। कार्यपालिका बैठकमा बस्न हामी हरेक समय तयार छौँ तर बैठकमा हुने निर्णय लेखियोस निर्णय पुस्तिकामा हस्ताक्षर गर्छौ लगत्तै बन्द गरियोस भन्दै उनिहरुले बताए। बिगतको जस्तो सादा निर्णय पुस्तिकामा हस्ताक्षर नगर्ने बरु बैठक थप पारदर्शी बनाउन फेसबुक लाईभ होस उनीहरूले माग गरेका छन्। प्रत्येक वडा अध्यक्षको विकास बजेटको सिलिङ बाट ६५ लाख रुपैयाँ काटेर विद्युत महशुल, छोरीको विवाहमा सहयोग लगायत शीर्षकमा पठाउने परिपाटी मौलापुरले मिलाउदै आएको छ । चारजना सदस्य सहित एउटा वडामा बर्षको मात्र १९ लाख पालिकाले दिने गर्छ, अनि शीर्षकको नाम राख्छ गरिब संग मेयर वडा अध्यक्षहरुले गुनासो गरेका छन्। बिभिन्न शिर्षकमा आफूखुसी भुक्तानी दिएर बर्षको ४० करोड रुपैयाँको कागज मिलाईन्छ। आफूहरु निर्वाचित भएको चौथो बर्षमा पनी मौलापुरको आर्थिक गतिविधि बारे कुनै जानकारी नहुँदा आर्थिक वर्ष २०८२/०८३ को हिसाब किताब देखाउन मौलापुरका नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव घिमिरे समक्ष लिखित निवेदन दिएको उपमेयर नागेन्द्र यादवले बताएका छन्। उनीहरुले आफूहरुको कारणले विद्युत महशुल भुक्तानी र छोरीको बिहेको सहयोग भुक्तानी नरोकिएको बताएका छन्। नगरसभा जस्तै सम्पूर्ण वडाका बासिन्दालाई जम्मा गरेर आफूहरु यस विषयमा मेयर संग कुरा गर्न तयार रहेको बताएका छन्। उनीहरूले नगरसभा जस्तै खुला छलफलमार्फत विवाद समाधान गर्न आफूहरू तयार रहेको पनि बताएका छन्। 

पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवका साथै वडा १ का अध्यक्ष जयलाल महतो, ८ का अध्यक्ष शिवप्रसन यादव, वडा ६ का अध्यक्ष ईश्वरी दयाल यादव, वडा ७ का अध्यक्ष बिर बहादुर, वडा ९ का अध्यक्ष श्यामाकिशोर साह,५ का अध्यक्ष चन्द्र किशोर साह सहभागी  थिए। मेयर रिना कुमारी साहले सम्पूर्ण आरोपको खण्डन गर्दै उपमेयर यादव सहित ६ जना वडा अध्यक्षहरुको आ-आफ्नो स्वतन्त्रता छ जे मन लाग्छ गर्नुस भनेर प्रतिक्रिया दिएकि छिन।