प्राइम खबर संबाददाता | जेठ १, २०८० सोमबार

पक्राउ पुर्जी (वारेन्ट) जारी भएको ११ दिनपछि एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनीविरुद्ध वैशाख २० गते नै वारेन्ट जारी गरेको थियो । तर, प्रहरीलाई छल्दै सम्पर्कविहीन भएका उनी आइतबार मात्रै पक्राउ परेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ । 



सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो । 

यस्तै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत १३ जना पक्राउ परेका छन् भने अन्य केही अझै फरार छन् ।