प्राइम खबर संबाददाता | जेठ १७, २०८० बुधबार

निर्माण कार्य सुरु गरेको सात बर्ष बितिसक्दा पनि पुल नबनेपछि आक्रोशित स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई हातपात गरेका छन ।

रौतहटको चन्द्रपुर ३ स्थित गैडाटारमा समयमा पुल नबनाएको भन्दै ४ दिन देखि स्थानीयबासी निर्माणाधीन चादी खोलाको पुलमुनी रिले अनशनमा बसेका थिए । बुधबार अनशन स्थलमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा प्रसाद साह ,ठेकेदार दयाराम साह ,संघिय संसद देव प्रसाद तिमल्सिना ,नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी सहित पुगेका थिए ।



 पुल नहुँदा वर्षेनी चाँदी खोलाको बाढीको समस्या भोग्दै आएका स्थानीयले अनसन स्थल पुगेका पप्पु शिवशंकर जेभीका ठेकेदार दयाराम साह र डिई दरोगा प्रसाद साह माथि हातपात गरेका थिए ।

तीन बर्षम सक्नुपर्ने काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीका कारण सात बर्षमा पनि अधुरो रहेको भन्दै स्थानीयले निर्माणाधिन पुलको मुनी चार दिन देखी रिले अनशनमा छन ।

नेता र प्रहरीको साथ लागेर सडक डिभिजनका प्रमुख र ठेकेदार रिलेअशन बसेको स्थलमा पुगेपछि आक्रोसित स्थानीयले हातपात गरेको चन्द्रपुर नगरपालिका वडानं ३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।

थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी, लकडाउन,बन्द हड्ताल देखाउदै अलपत्र राखेको थियो । कोरोनाको कारण देखाउँदै दोश्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो । अलपत्र पुलको पुन: तेश्रो पटकका लागि २०७९ असार सम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेन ।

ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको डिभिजन सडक कार्यलयको भनाइ रहेको छ । पुलको हाल सम्म ७५ प्रतिशत काम भएको बताइएको भएतापनि ठेकेदार कम्पनीले आर्थिक अभाव,निर्माण सामग्रीको अभावको कारण देखाउँदै निर्माण सम्पन्न नभएको बताउदै आएको छ ।