प्राइम खबर संबाददाता | साउन २४, २०८० बुधबार

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आज कुनै भेला नबोलाएको बताएका छन् । उनले नेविसंघमा आवद्ध विद्यार्थी नेतालाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।


नेविसंघको अध्यक्षको जिम्मेवारी पाएको दिनदेखि नै आफूले केन्द्रीय समिति गठनका लागि निरन्तर प्रयास गरेको उनले बताएका छन् । उनले विशेष परिस्थितिका कारण केन्द्रीय समितिले पूर्णता पाउन १७ महिना कुर्न परेको पनि बताएका छन् ।



केन्द्रीय समितिमा नअटाएका विद्यार्थी नेताहरुको उचित व्यवस्थापन गर्ने कुरामा आफू गम्भीर रहेको पनि उनले बताएका छन् । केन्द्रीय समिति विस्तारका क्रममा असन्तुष्ट रहेका नेविसंघका केही विद्यार्थी नेताले समानन्तर समिति गठन गर्न लागेपछि शेर्पाले यस्तो बताएका हुन् ।



उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

आदरणीय साथीहरु जय नेपाल !

नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको दिन देखि नै केन्द्रीय समिति गठनको निमित्त निरन्तर प्रयत्न गरिरहेको थिएँ।

तिनै तहको निर्वाचन, स्ववियु निर्वाचन, उपनिर्वाचन र मातृ पार्टीको आन्तरिक गतिविधि साथै राष्ट्रिय राजनीतिको विशेष परिस्थितिको कारण करिव १७ महिनामा केन्द्रीय समितिले पूर्णता पाएको छ।

विगत लामो समयदेखि हुन नसकेको महाधिवेशन, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन विभिन्न जिल्ला र क्याम्पसहरूमा साथीहरुले गर्नुभएको त्याग र मेहनतलाई सम्मान गर्न ठूलो संख्याको समिति बनाइएको छ।

अझै पनि विविध कारणवश धेरै महत्वपूर्ण साथीहरु छुट्नु भएको छ। समितिमा नाटाएका विद्यार्थी नेता साथीहरुको समेत उचित व्यवस्थापन गर्ने कुरामा म प्रतिबद्ध रहेको छु।

नेपाल विद्यार्थी संघको कलम मसाल अंकित झण्डा मुनी रहने जिम्मेवार साथीहरु प्रति अवश्य न्याय हुनेछ। तसर्थ आज नेपाल विद्यार्थी संघको नामबाट हुने भनिएको कुनै भेला नरहेको र यस्ता भ्रममा नपर्नु हुन सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु। जय नेपाल