एजेन्सी | असोज २१, २०८० आइतबार

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।



‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’

हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ। अहिले पनि लडाइँ जारी छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।