न्यूज डेस्क | बैशाख २६, २०८३ शनिबार

रौतहट । चन्द्रपुर नगरपालिकामा पशु रोग नियन्त्रणका लागि खटिएका भ्याक्सिनेटरहरूले १४ महिना बितिसक्दा पनि आफ्नो पारिश्रमिक भुक्तानी नपाएको तथ्य सार्वजनिक भएको छ।


आर्थिक वर्ष २०८१/ ०८२ मा नगरपालिका भित्रका पशुहरूमा फैलिने विभिन्न संक्रामक रोग विरुद्ध खटिएका प्राविधिकहरूले अझैसम्म मेहनतको रकम नपाएको भन्दै गुनासो गरेका छन्।



चन्द्रनिगाहपुरका पशु प्राविधिक संजय दासका अनुसार नगरपालिकाले करारमा भ्याक्सिनेटर नियुक्त गरी वडा–वडामा पशु स्वास्थ्य सेवा सञ्चालन गराएको थियो। उक्त अभियान अन्तर्गत भ्यागुते, चरचरे (लम्पी स्किन रोग), खोरेत तथा पिपिआर लगायतका रोग विरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो।



दासले घामपानी नभनी गाउँ–गाउँ र घर–घर पुगेर सेवा दिएको स्मरण गर्दै भने, “बिहानदेखि दिउँसो २ बजेसम्म भोकभोकै पशुमा खोप लगायौँ, तर आजसम्म पनि हाम्रो भुक्तानी आएको छैन।”

उनले नगरपालिकाको लापरबाही तथा हेलचेक्र्याइँका कारण प्राविधिकहरू अन्यायमा परेको आरोप लगाए। बिचौलिया मार्फत गरिएको अन्य कामको भुक्तानी भइरहेको तर प्रत्यक्ष सेवा प्रदान गर्ने प्राविधिकहरूको रकम रोकिएको भन्दै उनले प्रश्न उठाएका छन् ।

यस विषयमा नगर प्रमुख संजय कुमार काफ्लेलाई लक्षित गर्दै उनले पारदर्शिता र तत्काल भुक्तानीको माग गरेका छन्। भुक्तानी लामो समयसम्म रोकिएपछि भ्याक्सिनेटरहरू थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दासले दिएका छन्। उनले सम्बन्धित निकाय चन्द्रपुर नगरपालिकाको ध्यानाकर्षण गराउन सार्वजनिक रूपमा आवाज उठाएको बताए।

नगरपालिकाले गत वर्ष करारमा भ्याक्सिनेटर नियुक्त गरी पशु रोग नियन्त्रण तथा किसानलाई सेवा पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरेको थियो। तर सेवा सम्पन्न भएको लामो समय बितिसक्दा पनि भुक्तानी नहुँदा सम्बन्धित प्राविधिकहरू निराश बनेका छन्।

यस विषयमा नगरपालिकाको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।