प्राइम खबर संबाददाता | कात्तिक १६, २०८० बिहिबार

रौतहट । चन्द्रपुर नगरपालिकाद्वारा आधारभूत विद्यालयका छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । चन्द्रपुर  वडा नम्बर १० स्थित श्रीनगर टोलमा रहेको सरस्वती आधारभूत विद्यालयका छात्र छात्राहरुलाई बिहीबार नगर प्रमुख सञ्जय कुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले एक कार्यक्रमका बीच विद्यालय पोशाक वितरण गरेका हुन् । 


उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम आशिष महतोले  विपन्न समुदायका बालबालिका पढ्दै आएको विद्यालय चन्द्रपुर नगरपालिका भीत्रै रहेर पनि उक्त विद्यालयको भौतिक संरचनाको स्थिति निकै दयनिय अवस्था रहेको र  कक्षा कोठाको अभावमा फरक कक्षाका विद्यार्थीहरूले एउटै कक्षामा पढ्दै आउनुपरेको बताए ।  विद्यालयको समस्या आफूले स्थलगत रूपमै देखेर आफूलाई चिन्तित तुल्याएको भन्दै सो सम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै  तत्काल समस्या समाधान गर्न आफू हरबखत तयार रहेको नगर प्रमुख काफ्लेले बताएका छन् । विद्यालय भवन निर्माणको कार्य यथाशीघ्र थालिने समेत उनले वचनबद्धता व्यक्त गरेका छन् । विद्यालयमा तत्काल आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्न चन्द्रपुर नगरपालिका तयार रहेको समेत नगर प्रमुख काफ्लेले बताएका छन् । 



वितरण समारोहमा उपप्रमुख चौधरीले सो विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुमा आएको शैक्षिक प्रगतिको समेत खुलेर प्रशंसा गरिन्।  उनले सो विद्यालयको स्थापना पश्चात वरपरको बालबालिका एबम् अभिभावकको चेतनाको स्तरमा समेत परिवर्तन ल्याएको भन्दै विद्यालयका शिक्षिकाहरुलाई धन्यवाद प्रकट गरेकी थिइन्। 



कार्यक्रममा विद्यालयका एकसय ५  जना छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो। विद्यालय पोशाक पाएपछि खुसी मुद्रामा देखिएका विद्यार्थीहरुलाई विद्यालय जान पढ्न हौसला मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए।