प्राइम खबर संबाददाता | कात्तिक २४, २०८० शुक्रबार

नेपाल मगर विद्यार्थी संघ रौतहटको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार चन्द्रपुर नगरपालिका परिसरमा नगर प्रमुख सञ्जय कुमार काफ्ले समक्ष सामूहिक रूपमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रवि रानामगरले बताए । 

सम्पूर्ण मगर विद्यार्थीहरु एक होऔं, शैक्षिक जागरण फैलाऔं भन्ने मूल नाराका साथ आयोजना गरिएको शुभ दिपावली अर्थात् वलिहाङ पर्वको अवसरमा देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रौतहटले जनाएको छ । 



कार्यक्रमममा लोक संस्कृतिको जगेर्ना गर्ने र आफ्नो मौलिक पहिचानलाई उजागर गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम मार्फत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको मगर विद्यार्थी संघलाई नगर प्रमुख सञ्जय कुमार काफ्लेले मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए। 

जनप्रतिनिधि लगायत नगरपालिकाको कर्मचारी समेतको समीपमा भएको उक्त भैलो कार्यक्रमले बटुवा दर्शकको समेत मन खिचेको थियो ।