न्यूज डेस्क | फागुन २७, २०८० आइतबार

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
लामिछानेको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

‘गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानबिन गर्न निर्देशन दिनुभएको छ’, उनले भनिन्, ‘बाहिर आएका विषयहरु के–के हुन्, त्यसबारे बुझेर अनुसन्धान अघि बढाउन भन्नुभएको छ ।’



प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पनि यो विषयमा आफूहरुको जानकारीमा पहिल्यै आइसकेको बताउँदै प्रारम्भिक जाँच सुरु गरिसकिएको अनलनाइनखबरलाई बतायो । ‘यो विषय बाहिर आउनेबित्तिकै के हो भन्ने विषयमा अध्ययन थालिसकेका थियौं’, स्रोतले भन्यो, ‘गृह मन्त्रालयबाट पनि यसलाई गम्भीरतापूर्वक लिन निर्देशन आएको छ ।’

पूर्वउपराष्ट्रपति छोरा जितेन्द्रले बुबाको पदीय हैसियताको आडमा सुन तस्करी गरेको आरोप छ । उनले चीनको एक कम्पीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक समेत बाहिरिएको थियो ।

उनले त्यसबेला एक वर्षभित्र अढाइ करोड रुपैयाँ दिने भनेर तमसुक गरेपनि पैसा फिर्ता गरेका थिएनन् । ‘व्यवसायीले पैसा नपाएपछि यो विषयबाहिर आएको जस्तो देखिन्छ, के भएको हो, सबै पक्षसँग सोधपुछ गरेर अनुसन्धान थालेका छौं’, प्रहरी स्रोतले भन्यो ।

पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा उनलाई बयान कागज गराएर छाडेको थियो ।

सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले पनि उनको बयान लिएको थियो । अनलाईन खबरमा यो समाचार प्रकाशीत छ ।