न्यूज डेस्क | चैत ४, २०८० आइतबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने बताएका छन् ।
शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको उनले बताए ।  सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको नेपालले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए । ‘फेरि चुनावमा यो देश नजाओस भनेर नयाँ समीकरण स्वीकारेको भन्दै अध्यक्ष नेपालले  एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको हुदा बिगतका कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे ।



‘पुष्पकमल दाहाल प्रचण्डसँग ४० वर्षदेखि र केपी ओलीसँग ५० वर्षको सम्बन्ध हुँदै आएको  हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा गएको उनले बताए।
 संख्याले सबै कुराको निर्धारण हुने भएकोले अहिलेको सत्ता समीकरण बनेको पनि उनले बताए ।  ‘ एकीकृत समाजवादीका नेताहरू किन घमन्डी हुनु, कम्युनिस्ट नै आएर मिलौं भन्छन् भने आ आफ्नो पार्टी बलियो बनाउने कुरा त छँदै छ, देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि हाम्रो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गर्यौँ,’ नेपालले भने नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको र ‘न्युनतम नीति, प्राथमिकता र साझा संकल्प’ नामक उक्त दस्तावेज शनिबार प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए ।