न्यूज डेस्क | बैशाख १८, २०८१ मंगलबार

प्रेस चौतारी नेपालले सिधा कुरा डटकम अनलाइन र युट्युब च्यानलको ’द डार्क फाइल’ शृङ्खला अन्तर्गत प्रकाशित सामग्रीका सन्दर्भमा सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
उपमहासचिव शुरोजंग पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १९ ले सञ्चारको हकअन्तर्गत विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने अधिकार सुनिश्चत गरेको स्मरण गराएका छन् ।
प्रकाशन, प्रसारण गरेबापत प्रतिबन्ध नलगाउने, छापा वा अन्य सामग्री जफत नगर्ने, दर्ता खारेज नगर्ने व्यवस्था गरेको स्मरण गराउँदै चौतारीले सर्वोच्च अदालतले अपहेलनासम्बन्धी मुद्दामा निवेदनको निरूपण नभएसम्म सिधा कुरा डटकमलाई कार्यक्रम उत्पादन, प्रसारण, पुन प्रसारणलगायत सार्वजनिक गर्न नपाउने गरी दिएको आदेशले संविधानप्रदत मौलिक अधिकारका रुपमा स्थापित प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको ठहर गरेको छ ।