न्यूज डेस्क | बैशाख ८, २०८३ मंगलबार

रौतहट । उदय नारायण सापकोटा लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभाग अन्तर्गतको विज्ञ समूह सदस्यमा मनोनयन गरेको छ।


पार्टी केन्द्रीय कार्यालयबाट जारी औपचारिक पत्रमार्फत सापकोटालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। पार्टीले संगठन विस्तार, नीति निर्माण तथा जनसेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनलाई विज्ञ समूह सदस्यको जिम्मेवारी दिएको जनाएको छ।



रास्वपाले सापकोटाको निरन्तर राजनीतिक सक्रियता, संगठन निर्माणमा गरेको योगदान, समर्पण र कार्यक्षमताको कदर गर्दै मनोनयन गरिएको उल्लेख गरेको छ। पार्टीको केन्द्रीय संगठन विभाग अन्तर्गत रहने विज्ञ समूहले संगठन व्यवस्थापन, रणनीतिक योजना निर्माण, नीति परामर्श तथा संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



मनोनयनपछि प्रतिक्रिया दिँदै सापकोटाले पार्टीले दिएको जिम्मेवारीलाई अवसरका रूपमा ग्रहण गर्दै संगठन सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिक केन्द्रित राजनीतिक अभियानमा सक्रिय रूपमा योगदान गर्ने बताएका छन्। उनले रौतहटसहित मधेस प्रदेशमा पार्टीको संगठन विस्तार र जनविश्वास मजबुत बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

रौतहट जिल्लामा लामो समयदेखि संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका सापकोटाको केन्द्रीय तहमा जिम्मेवारी प्राप्त भएपछि जिल्लास्थित कार्यकर्ताहरूले खुशी व्यक्त गरेका छन्। स्थानीय नेताहरूका अनुसार उनको मनोनयनले रौतहटबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व थप बलियो बनेको छ।

रास्वपाले पछिल्लो समय देशभर संगठन विस्तारलाई तीव्रता दिँदै अनुभवी तथा सक्रिय नेताहरूलाई केन्द्रीय संरचनामा समेट्ने नीति अघि बढाएको छ। सापकोटाको मनोनयनलाई सोही रणनीतिक कदमको निरन्तरताका रूपमा हेरिएको छ।