न्यूज डेस्क | जेठ ७, २०८१ सोमबार

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को अपहेलनामा कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले अनैतिक रूपमा तथ्यहीन कुरा गर्दा संसद्को अपहेलना भएको गुरुङको पत्रमा उल्लेख छ ।  मिति २०८१ साल जेठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको  उनको भनाइ छ ।


 



‘नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिक बिच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु,’ पत्रमा लेखिएको छ ।




आफूले बोलेको कुराहरू पुष्टि गर्न  गृहमन्त्री लामिछानेलाई गुरुङले चुनौती दिए । ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु । प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु,’ उनको पत्रमा उल्लेख छ ।