न्यूज डेस्क | असार २७, २०८१ बुधबार

रौतहट। चन्द्रपुर नगरपालिकाले  विपद् ब्यबस्थापन गर्नका लागी बिभिन्न सुरक्षा निकायहरुलाई बिपद प्रतिकार्य सामग्रीहरु हस्तान्तरण गरेको छ। बुधबार चन्द्रपुर नगरपालिका स्थित बिपद ब्यबस्थापन शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाको श्री बीर दल चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुरको सुरक्षाकर्मीको टोलीलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् । 



 कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्ले चन्द्रपुर नगरपालिकालाई विपदबाट आउने संकटबाट जोगाउन चन्द्रपुर नगरपालिका सदैव प्रतिबद्ध रहेको समेत बताएका छन् । नगरप्रमुख काफ्लेले बिहान हस्तान्तरण गरेका सामग्रीहरु विपद्को बेला नागरिकहरूलाई उद्धार तथा राहतको लागि उपयुक्त ढङ्गले परिचालन गरिनेमा विश्वास समेत बयक्त गरेका छन् । उनले आफूले निर्वाचित भएर आएदेखि नै चन्द्रपुर नगरपालिकाका विपद् जोखिममा रहेका बस्ती तथा समुदायहरूको पहिचान गरी उनीहरुलाई विपदबाट जोगाउन विभिन्न ठोस कार्यक्रमहरु समेत सञ्चालन गरेको बताएका छन्  ।



चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले चन्द्रपुर नगरपालिका आफ्ना नागरिकलाई विपदबाट हुनसक्ने जोखिमबाट जोगाउन योजनाबद्ध ढंगले प्रतिबद्ध भएर लागेको बताउदै चन्द्रपुर नगरपालिकालाई विपद्को जोखिमबाट सुरक्षित गर्न आगामी दिनहरूमा अझ बढी कार्यक्रम तथा योजनाहरू ल्याउने समेत बिश्वास ब्यक्त गरेका छन् । 



उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी ,चन्द्रपुर नगरपालिकाका जिन्सी शाखा प्रमुख मिश्रीलाल साह लगायच विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।