न्यूज डेस्क | बैशाख २, २०८३ बुधबार

रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेल सम्मानित भएका छन्। खोरकट्टी सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर नगरपालिका–९ र १० ले बुधबार आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो।


चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगर बजारमा सम्पन्न कार्यक्रममा नव निर्वाचित सांसद पौडेललाई खादा,माला सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कोपेन्द्र चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो।



उक्त कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साह, चन्द्रपुर नगरपालिका वडा नम्बर–१० का अध्यक्ष टंकेश्वर चौधरी, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राम सिंहासन राय यादव, चन्द्रपुर नगर उध्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केपी थापा, स्थानीय शिक्षक काशी दास लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी,उपभोक्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।



सम्मान कार्यक्रममा बोल्दै सांसद गणेश पौडेलले सामुदायिक वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आफूले संघीय संसद तथा सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक वन स्थानीय जनताको आयआर्जन, वातावरण संरक्षण तथा दिगो विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

त्यसैगरी कार्यक्रममा सहभागी स्थानीय प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुरक्षा व्यवस्थासम्बन्धी विषयहरू उठाएका थिए। चन्द्रपुर वडा नम्बर–१० का अध्यक्ष टंकेश्वर चौधरीले आफ्नो वडामा रहेका विभिन्न विकाससम्बन्धी चुनौती तथा स्थानीय आवश्यकताहरू सांसद समक्ष राख्दै संघीय स्तरबाट सहयोगको अपेक्षा व्यक्त गरे।

कार्यक्रमका वक्ताहरूले जनप्रतिनिधि र स्थानीय समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले सामुदायिक वन संरक्षणसँगै स्थानीय आर्थिक विकासलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक बलीराम चौधरीले गरेका थिए। आयोजकका अनुसार नव निर्वाचित सांसदलाई सम्मान गर्नुको उद्देश्य स्थानीय समुदाय र जनप्रतिनिधिबीच सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको बताइएको छ। 

एउटा शिक्षित र भिजन  सहित केही गरौ भन्ने हुटहुटी भएको ईमान्दार र स्वच्छ छबि भएको युवा ब्यक्ति संघिय सांसदमा निर्बाचित भएको भन्दै कार्यक्रममा सरिक बक्ताहरुले सांसद पौडेललाई बधाई संगै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका थिए ।