न्यूज डेस्क | असार ३, २०८२ मंगलबार

रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो एघारौं नगरसभा भव्य रूपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


सरकारी निति अनुसार असार १० गते भित्र नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नगरपालिकाले आगामि आर्थिक बर्षको लागी नगर सभा आयोजना गरेको हो । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट प्रस्ताव गरिएको हो ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, शशर्त तथा विशेष अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान र आन्तरिक स्रोतमार्फत संकलन भएको बजेट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, विधुत र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।



सभामा सम्बोधन गर्दै मेयर जयसवालले सीमित स्रोतसाधन हुँदाहुँदै पनि नगरले विगत केही वर्षमा रुपान्तरणकारी योजनाहरू कार्यान्वयन गर्दै विकासमा उल्लेखनीय फड्को मारेको बताएका छन् । उनले नगरभित्रका चालु तथा आउँदै गरेका विकास आयोजना, रोजगारी सिर्जना, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य सुधारमा नगरले देखाएको प्रतिबद्धता पनि उल्लेख गरेका छन् ।

जिल्ला समन्वय समितिका सभापति रामअयोध्या रायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगरसभामा बोल्दै सबैको साथ र सहयोग रहने हो भने आफ्नो कार्यकालमै कटहरिया नगरलाई नमुना नगरको रूपमा स्थापित गर्न आफु कटिबद्धतापूर्बक लाग्ने नगरप्रमुख जयसवालले प्रतिबद्धता जाहेर गरेका छन् ।