न्यूज डेस्क | बैशाख २, २०८३ बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा सबै दलका समानुपातिक सांसदहरूसँग एकमुष्ट छलफल गरेका छन्।
दिउँसो १२ बजे सुरु भएको बैठक करिब ५ घण्टासम्म चलेको थियो, जसमा ११० मध्ये अधिकांश सांसदको उपस्थिति रहेको थियो। प्रत्येक सांसदलाई आफ्ना धारणा राख्न १ मिनेटको समय दिइएको थियो।
सांसदहरूले उठाएका विषयहरू प्रधानमन्त्रीको सचिवालयले टिपोट गरेको छ भने लिखित सुझाव दर्ता गर्ने व्यवस्था पनि गरिएको थियो।
केही प्रतिपक्षी सांसदहरूले प्रत्यक्ष र समानुपातिक सांसदलाई एउटै बैठकमा बोलाउनुपर्ने धारणा राखेका थिए भने सीमा समस्या र योजनाको आर्थिक स्रोतबारे पनि प्रश्न उठाएका थिए।
५ घन्टासम्म सांसदहरुको कुरा सुनेपश्चात प्रधानमन्त्री ५ मिनेट बोले । उनले समानुपातिक सांसदहरुले आफूलाई कमजोर नसम्झिन आग्रह गरेका थिए । आफूले झापा ५ मा कुनै योगदान नदिएर पनि चुनाव जितेको स्मरण गर्दै उनले एउटा क्षेत्र समात्नैपर्छ भन्ने आवश्यकता नरहेको बताएका थिए । सांसदहरुको मागलाई हरसम्भव सम्वोधन गरिने उनले आश्वासन दिएका छन् ।