न्यूज डेस्क | बैशाख ४, २०८३ शुक्रबार
रौतहट । फतुवा विजयपुर नगरपालिकामा चरम बेथिति, अपारदर्शिता तथा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै स्थानीयवासीहरूले सुरु गरेको आन्दोलनपछि नगरपालिकामा महत्वपूर्ण निर्णय भएको छ।
नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बिहीबार ठूलो संख्यामा स्थानीयहरूले नगरपालिका कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए। आन्दोलनमा सहभागीहरूले पारदर्शी प्रशासन सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न तथा विगतदेखि बाँकी रहेको विद्युत महसुल तत्काल भुक्तानी गर्न माग गर्दै नाराबाजी गरेका थिए।
आन्दोलनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता शिवपुजन राय यादवले गरेका थिए। आन्दोलनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकी नगरपालिका परिसरमा प्रदर्शन गरेका थिए। माग सम्बोधनको विषयलाई लिएर केही समय स्थिति तनावपूर्ण बनेको थियो।
सुरक्षा निकायको उपस्थितिबीच आन्दोलनरत पक्ष र नगरपालिकाबीच वार्ता समेत भएको थियो। आन्दोलनकारी पक्षका प्रतिनिधि शिवपुजन राय यादव र कार्यपालिका सदस्यहरूबीच प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहालको रहोबरमा छलफल भएको हो।
वार्तापछि प्रमुख प्रशासकीय अधिकृत दाहालले आन्दोलनकारीहरूले उठाएका मागलाई समसामयिक र जायज भन्दै कार्यपालिका बैठक बोलाएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। तर कार्यपालिका सदस्यहरू तथा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको ढिलासुस्तीका कारण राति अबेरसम्म बैठक सुरु हुन सकेको थिएन।
त्यसपछि नेता शिवपुजन राय यादव स्वयमले केही कार्यपालिका सदस्यहरूलाई घरमै पुगेर बैठकमा सहभागी गराउँदै कार्यपालिका बैठक बस्न महत्वपूर्ण भूमिका खेलेका थिए।
नेता यादवका अनुसार कार्यपालिका बैठकबाट साना किसान, कृषि तथा खानेपानीसँग सम्बन्धित विद्युत महसुल नगरपालिकाले नै भुक्तानी गर्ने निर्णय गरिएको छ। आन्दोलनबाट उठाइएका प्रमुख माग सम्बोधन भएपछि आन्दोलनले सार्थकता पाएको उनको भनाइ छ।
स्थानीय तहमा सुशासन र पारदर्शिताको माग गर्दै सुरु भएको आन्दोलनपछि निर्णय कार्यान्वयनको चरणमा पुगेसँगै यतिबेला नेता शिवपुजन राय यादवको भूमिका स्थानीय स्तरमा व्यापक चर्चाको विषय बनेको छ।