न्यूज डेस्क | असोज २८, २०८३ बुधबार

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गरी पार्टपुर्जा खोल्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त विवरण अनुसार, असोज २४ गते राति चन्द्रपुर नगरपालिका–७ नयाँ बस्तीस्थित एक घरबाट प्रदेश ०३–०४६ प ३६५२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल चोरी भएको थियो ।


चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले असोज २५ गते बिहान करिब ६ः३० बजे गुजरा नगरपालिका–२ कटानीटोलस्थित एक मोटरसाइकल वर्कसपमा उक्त मोटरसाइकल फेला पारेको हो । वर्कसपमा मोटरसाइकलको ट्याङ्की, चक्कालगायतका पार्टपुर्जा खोलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।



घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको वृन्दावन नगरपालिका–१० का १९ वर्षीय अर्जुन चौधरी तथा पर्साको वीरगञ्ज महानगरपालिका–३१ का १९ वर्षीय आनन्द गौरो र शिवशंकर दास थारूलाई नियन्त्रणमा लिएको छ ।



मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका रौतहटको गुजरा नगरपालिका–२ निवासी २४ वर्षीय राहुल चौधरीको वर्कसपमा चोरी भएको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ