प्राइम खबर संबाददाता | मंसिर ४, २०७८ शनिबार

एबी इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ फागुन २७ गते चलचित्र प्रदर्शन गर्ने भएको छ।

पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म कोरोना भाइरस महामारीका  कारण रिलिज हुन नसकेको सिनेमा २०७८ फागुन २७ मा  रिलिज हुने अजित कुमार थापाले जानकारी दिएका छन्।

सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेङ सँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।

लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएतका  विभिन्न देशका विभिन्न स्थानहरूमा  छायांकन गरिएको उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत समेत रहेका छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमाका परि राना सह-निर्माता हुन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

उक्त चलचित्रको निर्माण बैनर एबी इन्टरनेशनल रहेको छ । जसले केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। नेपाली सिनेमा बजारमा छुट्टै पहिचान बनाएको  यस कम्पनीले चलचित्रको गुणस्तर र कथाबस्तु छनोट देखि कलाकार छनोट अरु भन्दा पृथक रहेको निर्माताको दाबी रहेको छ । चलचित्र 'समालिन्छ कहिले मन' नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्ष बताउँछन् ।