न्यूज डेस्क | बैशाख ५, २०८१ बुधबार

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।
समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधरबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रनरेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।
समूहगत चरणको समाप्तिपछि नेपाल आठ अंकसहित पहिलो, हङ्कङ चार अंकसहित दोस्रो, कतार चार अंकसहित तेस्रो, साउदी अरेबिया दुई अंकसहित चौथो र मलेसिया दुई अंकसहित पाँचौँ भए । हङ्कङको नेट रनरेट –०।१२८ र कतारको नेट रनरेट –०।४५३ रह्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ७।२ ओभरमा केवल चार विकेट गुमाएर ७५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
नेपालको जितमा गुलसन झाले अविजित ३२ रनको योगदान गरे । उनले केवल १९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । कप्तान रोहित पौडेलले पनि अविजित १६ रन बनाए । उनले सात बलमा एक छक्का र एक चौका प्रहार गरे ।
दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा १७ रन थपे । उनले नौ बलमा तीन चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले दुई–दुई रन बनाए । ओपनर कुशल भुर्तेल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रूपमा ६ रन पायो । साउदी अरेबियाका बलर ईस्तिक अहमदले दुई विकेट लिए । वाजी उल हसन, उसमान नजिबले पनि एक–एक विकेट हात पारे ।