प्राइम खबर संबाददाता | चैत ६, २०७७ शुक्रबार

रौतहटको सिमा नाका स्थित जयनगरबाट गत  चैत्र ४ गते उद्धार गरिएकी किशोरी निर्मला तामाङको स्वास्थ्यमा समस्या रहेकाले उपचार गराइ रहेको मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमल्सिनाले बताइन्।
   हेटौडाको एक होटलमा काम गर्दै आइरहेकी अन्दाजि १७ बर्षकी दोलखा घर बताउने निर्मला तामाङलाई रौतहटको इशनाथ नगरपालिकाको वडा नं. ५ स्थित नेपाल भारत सिमा नजिकबाट  प्रहरीले फेला पारी गत चैत्र ४ गते मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ लाई जिम्मा लगाइएको थियो । 
 उद्दार गरिएकी किशोरीको स्वास्थ्यमा समस्या आएको रगतमा हेमोग्लोबिनको मात्र निक्कै न्यून रहेको  चिकित्सकको भनाई रहेको छ । अस्पतालले रगतको कमी भएको बताएपछि अहिले ४ पाउण्ड रगत चढाएर उनलाई हाल आइसियुमा वार्डमा भर्ना गरि उपचार भइरहेको पाठकले बताइन् । रगत र आइसियु बापतको रकम सिविल हेल्प लाइन हेटौडाले भुक्तानी दिने जनाइएको छ । पिडित तामाङ मानसिक रोगी समेत भएकाले मानसिक रोगको उपचार समेत गरिने बताइएको छ । त्यसैगरि चर्म रोगको समेत समस्या किशोरीमा देखिएपछि चर्म रोग विशेषज्ञसँग समेत परामर्श गरिरहेको पाठकको भनाइ छ ।
   पीडित किशोरीको  सम्पुर्ण स्वास्थ्य जाच गरिसकेपछि मानव सेवा आश्रम हेटौडामा संरक्षणसहित राखिने सर्लाही उपसंयोजक मञ्जु फुयाँलले बताइन् ।