प्राइम खबर संबाददाता | कात्तिक १, २०८० बुधबार

 रौतहट बैंकबाट सहज ऋण पाउने आशामा अर्काको नाममा जग्गा पास गर्दा ऋण समेत हात नलागेपछि  आफ्नो पुर्खौली सम्पति गुमाउन बाध्य पीडित स्थानीय युवाले चन्द्रपुर ४  स्थित होटलमा अन्यायमा परेको भन्दै  जग्गा ठगी प्रकरण बिरुद् बुधबार पत्रकार सम्मेलन गरेका छन् । 

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका ३० वर्षीय अर्जुन चौधरीले आफु ठगिएको कुरा पत्रकार सम्मेलन मार्फत बताएका छन् । 



व्यवसाय गर्न भनि चौधरी चन्द्रपुर शाखा अन्तर्गत रहेको एनएमबी बैंक र सनराईज बैंकमा ऋण लिन पटक पटक जाँदा ऋण नपाए पछि निजहरुको व्यवसाय गर्ने योजना सफल हुन सकेन । त्यसको भरपुर फाईदा लिदै पछिल्लो समय जग्गा ठगी गर्नेहरूको एक समुहले  बिचौलिया मार्फत चौधरीलाई सम्पर्क गरि तिमिहरुलाई बैंकले पत्याउँदैन तिम्रो जग्गा मेरो नाममा पास गर त्यसपछि  बैंकमा मेरो नाममा अलि बढी ऋण लिएर तिमीलाई आवश्यक परेको  २० लाख दिन्छु, म पनि चलाउछु भनि जग्गा पास गरेर लिए । बिचौलियाको प्रस्तावमा पीडित युवा सहमत भए । जग्गा पास गरी लिएपछि निज पिडित चौधरीलाई पिडकले जग्गा पास गरेको सात महिना बितिसक्दा पनि न त पैसा दिए न त जग्गा फिर्ता गरे । व्यवसाय गर्ने सपना बोकेर हिडेका पिडित अर्जुन चौधरीको सपना सपनामा नै सिमित रह्यो । 

रौतहट शिवनगर घर भै हाल चन्द्रनिगाहपुरमा व्यवसाय गर्दै आईरहेका बर्ष ३५ का ओमनाथ गिरिलाई एक बिचौलिया मार्फत पीडित अर्जुन चौधरीले ५ कठ्ठा १० धुर आफ्नो नाममा रहेको जमीन पास गरे । सो जग्गाको हाल चलन चल्तीको मूल्य लगभग ३ करोड भन्दा बढी मुल्यको जमिन अर्काको नाममा गएपछि पिडितहरु लामो समयदेखि मानसिक रूपले चिन्तित भएका छन् । अर्जुनले मालपोत कार्यालय चन्द्रनिगाहपुरमा आफ्नो नाममा रहेको जमीन क्रेताले देखाएको प्रभु बैंकको भौचरको विश्वासमा रहेर पास गरेको समेत बताए  । चेक मार्फत जम्मा गरिएको भनेको भौचर अनुरुप बैंक खातामा भने पैसा जम्मा नभएको खुलेको छन् । उनको घर परिवार समेत पछिल्लो समय सोही कारण चिन्तित बनेका छन् । 

निज पिडितले पटकपटक आफ्नो जग्गा फिर्ता गरिपाउँ भनि पिडकसँग ताकेता गर्दा फेरि कथामा अर्को मोड आउँछ। पिडक र पिडितको यस अघि चिनजान थिएन, चिनजान गराउने एक जना बिचौलिया थिए। ति हुन् चन्द्रपुर नगरपालिका वडा नं. २ का रवि प्रसाद साह । पिडकले बिचौलिया‌ साहको माध्यमबाट अर्जुन जस्ता पिडितहरुको जग्गा सङ्कलन गर्ने  कार्य गरे । जग्गा हड्पिसकेपछि बिचौलियालाई मोटो रकम दिएर जग्गा धनिलाई भोलि पर्सि भन्दै पिडितले सात महिना सम्म झुट मात्र बोलिरहे । पिडितले हाल आफ्नो जग्गा फिर्ता माग्दा बिचौलिया साहले लिएको मोटो रकम दिलाइदेउ जग्गा फिर्ता गरिदिन्छु भन्दै उल्टो पिडितलाई सास्ती दिन सुरु गरे । फेरि एक पटक पिडित अर्जुन चौधरीको सपनामा तुषारापात भयो। अर्जुन आफ्नो सपना छोडेर गुमेको जमिन फिर्ता गर्न सहयोगको खोजीमा बिभिन्न पार्टीका नेताहरुको घर धाउन थाल्छन् तर निराश अर्जुन घर भित्रको मानसिक तनाव खप्न नसकि आत्माहत्यासम्मको सोच बनाए । अन्तमा साथीहरुको सल्लाहले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरि न्यायको लागि लड्ने निधो गरे । 

बिचौलिया रवि प्रसाद साह र  ओमनाथ गिरिको जालझेलमा घरबारविहीन अर्जुन चौधरी एक उदाहरण मात्र हुन्। गिरि जस्ता जग्गा ठगीमा सामेल भू-माफियाहरूको एउटा ठूलो जमात जिल्ला भरि सक्रिय छन् । केहि समय अगाडी एनआइसि एसिया बैंकले ठग्यो भन्दै रोइकराइ गर्ने एक हुल भू-माफियाहरुले अरुको जमिन आफ्नो नाममा गरेर बैंकबाट कृषिको नाममा ३० करोड भन्दा माथि ऋण लिएर अर्जुन जस्ता जग्गा धनिहरुलाई घरबारविहीन बनाउने षड्यन्त्रको पर्दाफास एकाएक चर्चामा आएको छ  । पिडितहरुलाई केहि समय मागेर जग्गा बैंकबाट निकाली पास गरिदिने आश्वासन पछि यो षड्यन्त्र केहि समयको लागि थामथुम भएपनि पिडितहरुको चिन्ता भने चाडबाडको बेलामा अझै सकिएको छैन। 

पछिल्लो समय यसरी सर्वसाधारणको जग्गा ललाई फकाई हड्पेर बैंक ऋण लिने र साँवा व्याज भुक्तानी नगरी जग्गा धनिलाई घरबारविहीन बनाईदिने भू-माफियाहरूको बढ्दो चलखेलबाट सचेत हुनुपर्ने उदाहरण अर्जुनको कथाबाट स्पष्ट बुझिन्छ। 

आर्थिक मन्दीको मार खेपिरहेको युवा पुस्ताहरु गर्जो टार्ने निहुँमा ठूला भनाउँदा व्यापारीहरूको शरणमा पर्दा जायदात गुमाउन बाध्य हुनुको कारण विश्वासघातको सिकार हुनू समेत रहेको बुझिन्छ । पछिल्लो समय समाजमा चर्को  मिटर व्याजको जाल यिनै गिरी जस्ता भू-माफियाहरूको सञ्जालबाट स्थापित हुने पाइन्छ । कुनै अमूक व्यक्ति वा बिचौलियाको चंगुलमा पर्दा भोग्नु परेको पीडा अर्जुन चौधरीको व्यथाबाट धेरैले पाठ सिक्नुपर्ने समेत देखिन्छ ।