प्राइम खबर संबाददाता | असोज २९, २०८० सोमबार

घटस्थापनाको दिन पारेर चन्द्रनिगाहपुर सिटी जेसिजले साहित्यसँग जेसिज कार्यक्रम सम्पन गरेको छ । उक्त साहित्यिक कार्यक्रमम चर्चित कवि मनु मञ्जिल र प्रख्यात गजलकार प्रदिप रोदनले आफ्ना चर्चित रचनाहरू वाचन गरेर सुनाएका छन् । साहित्यको रसपान गर्दै कार्यक्रममा उपस्थित श्रोताहरु निकै मन्त्रमुग्ध देखिएका थिए ।

कविताकार मञ्जिलले आफ्नो बालापनको भूमि चन्द्रनिगाहपुरमा निकै समयको अन्तरालमा साहित्यिक कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउँदै चन्द्रपुर साहित्यको उर्भर भूमि रहेको मुक्तकण्ठले प्रशंसा समेत गरे । उनले साहित्यले चन्द्रपुरलाई विश्वमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै पछिल्लो पुस्ताका साहित्यकारलाई मेहनतका साथ निरन्तर लाग्न सुझाए । गजलकार रोदनले चन्द्रपुरमा साहित्य प्रेमीहरु देखेर निकै उत्साहित भएको चर्चा गर्दै चन्द्रपुरको माया सदैव आफ्नो मन मुटुमा रहिरहने बताए ।



कार्यक्रममा मनु मञ्जिल , प्रदिप रोदन, डा. शालिग्राम शर्मा, अनन्त कोइराला, माधव काफ्ले र हरिकृष्ण काफ्ले, कथाकार रेणुका जिसी खतिवडा,सपुत बहादुर कार्की र चन्द्रपुरका नगर प्रमुख संजय काफ्लेलाई सम्मान समेत गरिएको कार्यक्रमका प्रस्तोता एबम्  संयोजक श्यामहरि चौलागाईले बताएका छन्  । कार्यक्रममा स्थानीय स्रष्टा सर्जकहरुले समेत आ आफ्नो कृति वाचन गरेर सुनाएका थिए । चन्द्रनिगाहपुरका चर्चित साहित्यकार हरिकृष्ण काफ्लेको ठट्यौली रूपकाे प्रस्तुतिले श्रोताहरुले निकै मनोरञ्जन समेत लिएका थिए।

चन्द्रपुरका स्थानीय  साहित्य प्रेमी समाजलाई साहित्यको रसपान गराउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको  चन्द्रनिगाहपुर सिटी जेसिज का अध्यक्ष चिरन्जीवी गौतमले  बताए ।  चन्द्रनिगाहपुर सिटी जेसिसले सदैव सामाजिक कार्यहरु गर्दै आइरहेको स्मरण गर्दै उनले युवा पंक्ति लगायत सिंगो समाजलाई सामाजिक क्षेत्रमा जोड्ने प्रयास विभिन्न माध्यमहरुबाट गर्दै आएको अध्यक्ष गौतम बताउँछन् ।