प्राइम खबर संबाददाता | कात्तिक २२, २०८० बुधबार

पुर्व मन्त्री एवं रौतहट क्षेत्र न.२ का पुर्व सांसद मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ सकिएको छ। २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भएको हो । बुधबार अदालतले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ ।
यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतलृ उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले भने, ‘जाहेरी दरखास्त यस्तो थियो, बयान यस्तो, नेपाल सरकारको निर्णय यो थियो सर्वोच्चको आदेश यस्तो थियो भनेर अदालतले नै टिपोट दिने हो, यसले बेञ्चलाई नै सहजीकरण हुन्छ’ उनले भने । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।