न्यूज डेस्क | बैशाख २५, २०८३ शुक्रबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन् ।


शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु तथा वरीयता मिचेर नियुक्ति गर्नु सरकारको ठूलो गल्ती भएको टिप्पणी गरेका हुन् ।



‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ । उनले थपेका छन्, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले ।’



सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै प्रक्रियाविपरीत कदम चालेको भन्दै साम्पाङले यसमा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन् ।

विज्ञप्तिमा सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको जेनजी आन्दोलनजस्ता विषयमा अदालतबाट आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले उक्त नियुक्ति गरिएको हुन सक्ने आशंका पनि उल्लेख गरिएको छ ।

त्यस्तै, नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत साम्पाङले गरेका छन् । अध्यक्ष साम्पाङले वरीयता मिचिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरप्रति पनि असन्तुष्टि जनाएका छन् ।

‘हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । श्रम संस्कृति पार्टीले विधि र प्रक्रियाविपरीत गरिने राजनीतिक अभ्यासको सधैं विरोध गर्ने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।