प्राइम खबर संबाददाता | बैशाख ४, २०७८ शनिबार


ताप्लेजुङमा शुक्रबार दिउँसो परेको वर्षासहितको असिनाले करोडौ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । शुक्रबार दिउँसो तीन बजेबाट परेको असिनाले आलु खेतीका लागि प्रख्यात फुङ्लिङ नगरपालिका ९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षती पुर्याएको छ ।
असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौं, गहुँ र तरकारीबालिमा सबैभन्दा बढी क्षती पुर्याएको स्थानीय कृषक समेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रम अन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले बताए ।
अचानक आएको असिनाले धेरै क्षती पुर्याएको छ, यो वर्ष कृषकले बालीको बीमा समेत नगरेकाले झनै समस्या भयो,’ उनले भने ‘यो विपतमा सरकारले कृषकलाई न्याय गर्नुपर्छ ।’ अघिल्लो वर्ष पनि असिना पानीले खेतीमा क्षति पुर्याएको तर, बीमाले केही राहत भएको कृषक शेर्पा बताउँछन् ।ताप्लेजुङको सबैभन्दा बढी व्यवसायिक रुपमा आलु खेती हुने र बिक्रि हुने स्थानका रुपमा चिनिएको बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा शुक्रबार आएको असिनाले क्षती पुर्याएको हो।