न्यूज डेस्क | असार २३, २०८३ मंगलबार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित रहेको मुस्कान होटलमा एकजना मृत अवस्थामा फेला परेका छन् ।


जिल्लाको चद्रपुर ६ निवासी कृष्ण प्रसाद घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।



 घिमिरे सोही होटलमा नै कामदारको रूपमा काम गर्दै आएका थिए। विगत ४ महिना अघिदेखि होटलका सञ्चालक हबीब मियाँ अन्सारीले तलब समेत नदिएको र आफ्नो साइकिल लगायतको समान होटल सञ्चालकले लिएको र आफू होटल मालिकबाट पीडित रहेको भन्दै सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन समेत दिएका थिए ।



बिहान उजुरी दिएका घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा बेलुका फेला परेको थियो। शवको अनुहार लगायतमा केही चोटपटक समेत देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको भएतापनि सो चोटपटक नयाँ अथवा पुरानो भन्ने यकिन भने नभसकेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले उक्त घटनलाई गम्भीरतापूर्वक हेरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य पत्ता लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पीडित परिवारले उक्त होटल सञ्चालक अन्सारीका विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी समेत दिएको बताएका छन्। अहिले होटल सञ्चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको रौतहट प्रहरीले जनाएको छ।