न्यूज डेस्क | चैत १४, २०८० बुधबार

आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो ।

केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइन् । विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको नगर प्रमुख दाहालले बताईन् । उनले भनिन्, “निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो ।”



उनका अनुसार बुधबार अर्थात आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा रु एक करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको उनले बताईन्  । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उनले जानकारी दिईन्  । त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उनको भनाइ थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताए । उनले भने, “बाघ हेर्न यहाँ आउने पर्यटक बढ्नेछन् ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताए ।

 निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर–१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ । बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए ।

अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन् । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो । पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन् । देशभरको तथ्याङ्क तीन सय ५८ रहेको छ । चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन् । त्यहाँ एक सय २५ वयस्क बाघ देखिएका थिए । निकुञ्जभित्र बाघले मानिसलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर राख्ने गरिन्छ ।