न्यूज डेस्क | चैत १४, २०८० बुधबार

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन्  ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन्  ।
उनले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए । उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानविन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि समेत व्यक्त गरेका छन्  ।
उनले संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानविन गरिँदैछ भनि पत्र लेखेको हो स्पष्ट पार्न माग समेत गरे । उनले सांसद चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको बताएका छन् ।