एजेन्सी | चैत १८, २०८० आइतबार

जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ । 
घरमा गाँजाको बोट लगाउन पनि दिइनेछ । तर प्रत्येक वयस्कले तीन वटा मात्रै गाँजाको बोट लगाउने पाउनेछन् ।
घरमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा राख्न पाइनेछ । विद्यालय, किन्डरगार्टेन, खेल मैदान र सार्वजनिक खेल केन्द्रको सय मिटरभित्र भने गाँजा फुक्न बन्देज गरिएको छ । 
बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सडकको पैदलयात्रा खण्डमा गाँजा खान मनाही गरिएको छ । जुलाई १ देखि भने कानुनी रूपमै गाँजा लिन सर्वसाधारणहरूलाई सजिलो होस् भनेर गाँजा क्लबहरू खोलिनेछ ।
प्रत्येक गाँजा क्लबमा ५०० जना सदस्य रहनेछन् । हरेक सदस्यले यी क्लबबाट मासिक रूपमा बढीमा ५० ग्रामसम्म सुकेको गाँजा किन्न सक्नेछन् । 
गाँजा सेवनका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्नु यो कानुनको उद्देश्य रहेको सरकारको दाबी छ । तर विपक्षी दलहरू, स्वास्थ्य संगठन र क्षेत्रीय अधिकारीहरूले भने यसको चर्को आलोचना गरिरहेका छन् ।