न्यूज डेस्क | जेठ ४, २०८३ सोमबार

रास्वपाका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल को भूमिकामाथि प्रश्न उठाएका छन् ।


प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले सर्वोच्च अदालतले संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर निवेदन दर्ता र पेसी तोक्ने प्रक्रियासम्बन्धी आदेशमा आपत्ति जनाएका हुन् ।



अधिवक्ता समेत रहेका सांसद न्यौपानेले अदालतको आदेश कुन इजलासबाट आएको हो भन्ने स्पष्ट नभएको भन्दै न्यायिक प्रक्रियाको मर्यादा र सीमा पालना हुनुपर्ने बताए । उनले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको प्रश्न उठ्दै अदालतको प्रशासनिक निर्णय विवादमा परेको टिप्पणी गरे ।



त्यसैगरी सांसद बास्कोटाले पनि उक्त विषयप्रति असन्तुष्टि जनाउँदै न्यायमूर्तिले राजनीतिक शैलीमा अभिव्यक्ति दिनु उपयुक्त नहुने बताइन् । उनले न्यायालयको मर्यादा कायम रहनुपर्नेमा जोड दिइन् ।