न्यूज डेस्क | चैत २२, २०८० बिहिबार

त्रिभुवन विश्वविद्यालयले स्नातक तह (चार वर्षे)को दोस्रो वर्षको वार्षिक परीक्षाको मिति परिवर्तन गरेको छ। परीक्षा समितिको मङ्गलबारको बैठकले यसअघि २८ चैतदेखि सञ्चालन हुने भनिएको परीक्षा १५ दिनपछि सारेको हो ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको नयाँ सूचना अनुसार शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षाको मिति सरेको छ । यसरी परीक्षा समयमा हुन नसक्नुको कारण प्राविधिक समस्या भएको निमित्त रजिष्ट्रार डा। कृष्णप्रसाद बस्यालले बताए ।
उनका अनुसार यस वर्ष पहिलो पटक अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको छ । तर उक्त प्रणालीबाट फारम भर्ने कार्य नयाँ भएकाले समस्या आएपछि परीक्षाको मिति परिवर्तन गर्नुपरेको उनको तर्क छ ।
“यस वर्ष पहिलो पटक अनलाइनबाट परीक्षा फारम भर्ने व्यवस्था गरिएको थियो । तर केही कलेज र विद्यार्थीहरूलाई समस्या भएपछि समयमा उक्त कार्य गर्न सकिएन,” उनले भने, “कुल एक लाख सात हजार विद्यार्थी रहेकामा मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेका थिए । उता फाराम भर्न गाह्रो भएको भनेर गुनासो पनि आइरहेको थियो । त्यही भएर विद्यार्थी सहजताका लागि परीक्षा सारिएको हो ।”
यसो हुनुमा कसैको दोष नभई प्रणालीमा अभ्यस्त हुन नसकेको उनको भनाइ छ । अब १६ वैशाखदेखि दोस्रो वर्षको नियमित वार्षिक परीक्षा हुनेछ ।