प्राइम खबर संबाददाता | बैशाख ८, २०७८ बुधबार
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ। यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन्।
माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै
श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ। प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज त्यसतर्फ लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए। गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए।