प्राइम खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार

रौतहट जिल्लाका एक वडा अध्यक्षले  आफैँ एम्बुलेन्स चलाएर धमाधम बिरामी ओसार्न लागेका छन्। कोरोनाको महामारीको समयमा डरका कारण अन्य जनप्रतिनिधिहरू फोन समेत उठाउन कन्जुस्याई गरिरहेका बेला वडाध्यक्ष स्बयंले सो कार्य गर्न लागेका हुन् ।  चन्द्रपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष दुत्तबहादुर थिंग (बुद्ध लामा) आफैँले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन्।

कोरोनाको आशंका भएका र ज्वरो आएका बिरामीहरूलाई उनी आफैँले एम्बुलेन्स चलाएर स्वाब परीक्षणको लागि लगेका हुन्। शनिबार उनले आफ्नो वडाका करिब २० जनालाई स्वाब परीक्षणका लागि ओसारेका छन्। एम्बुलेन्सका चालकसमेत बिरामी भएपछि वडाध्यक्ष आफैँले बिरामी ओसारेको वडा अध्यक्ष बुद्ध लामाले बताए।



सेवाकै लागि जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको वडा अध्यक्ष  बताउँछन्। शनिबार मात्रै असनवा, नयाँबस्ती तथा फूलबारीका बिरामीहरूलाई स्वाब परीक्षणको लागि लगेको उनले वडाबासीको सेवामा आफू कुनै पनि बेला तयार रहेको  प्रतिक्रिया दिएका छन्। गत वर्ष पनि उनी यसरी नै सक्रिय भएर सामाजिक कार्यमा खटेका थिए। वडाध्यक्ष लामाको सामाजिक कार्य र यस कदमप्रति आफु निकै प्रभाबित भएको र बडाध्यक्ष लामाबाट अन्य जनप्रतिनिधिहरुले समेत पाठ सिक्नुपर्ने स्थानिय बिजय कार्की बताउछन् ।