प्राइम खबर संबाददाता | बैशाख ६, २०८१ बिहिबार

अर्जुन तिमल्सिनारौतहटको गरुडा नगरपालिकाका मेयरसहित तीन दर्जनको टोली भारत भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ ।
मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरु सहितका तीन दर्जनको जम्बे टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले बताए  । जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको हो ।

अहिले गरुडा नगरपालिकाको कार्यालय सुनशान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी  भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनि भारतको हरीद्धार , अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।   



मंगलबार नगरपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो ।  टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही विना कामविहीन बनेर फर्किने गरेका छन् । 

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरु समेत मोबाईल चलाएर  दिन बिताउदै देखिन्छन् । अहिले नगर प्रमुख कलवार सहितका टोली भारतमा रहेका  छन् । 
गरुडा नगरपालिका प्रमुख कन्थमणी कलवार सहित नगरको टोली भारतको बिभिन्न धार्मिक तिर्थस्थल  भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागीएको स्रोतको भनाई रहेको छ । केही समयअघि सम्म कार्यपालिकामा उपप्रमुख लगायतका केही कार्यपालिका सदस्यहरु नगरप्रमुखको बिरोध गर्दै आएका थिए । यद्धपी भ्रमणको कुरामा भने सबै एकठाउमा देखिएपछि  नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई  तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानियको रहेको छ ।