न्यूज डेस्क | बैशाख १४, २०८३ सोमबार
रौतहट । चन्द्रपुर नगरपालिका–३ अन्तर्गत गैडाटारमा सञ्चालन हुँदै आएको हाटबजार अव्यवस्थित बन्दै गएको भन्दै व्यापारी तथा उपभोक्ताहरूबाट व्यापक गुनासो आउन थालेको छ।
हप्तामा दुई पटक लाग्ने उक्त हाटबजारमा टाढाटाढाबाट व्यापार गर्न आउने व्यापारीदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न आउने स्थानीय उपभोक्तासमेत आधारभूत व्यवस्थापन अभावका कारण समस्यामा परेको बताएका छन्। बजार क्षेत्र अव्यवस्थित हुनुका साथै सरसफाइ, खानेपानी र शौचालय व्यवस्थापन अत्यन्त कमजोर रहेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार अघिल्लो वर्ष मात्रै करिब १० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको सार्वजनिक शौचालय हालसम्म प्रयोगमा ल्याइएको छैन। निर्माण भएको शौचालयसमेत उचित व्यवस्थापन अभावमा होटलको भण्डारण कक्षका रूपमा प्रयोग भइरहेको छ ।
शौचालय सञ्चालनमा नआएपछि बजारमा आउने व्यापारी तथा उपभोक्ताहरू खुला स्थान र नजिकैको जंगल र केरा घारीमा जान बाध्य भएको बताएका छन्। यसले स्वास्थ्य र वातावरणीय जोखिम बढाएको स्थानीयको भनाइ छ।
हाटबजार क्षेत्रमा सुरक्षित खानेपानीको व्यवस्था नहुँदा व्यापारीहरू आफैं पानी बोकेर आउनुपर्ने अवस्था रहेको छ। फोहोर व्यवस्थापन प्रभावकारी नभएकाले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीयवासी अमित मगरका अनुसार बजार व्यवस्थापन सुधारका लागि पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराए पनि कुनै चासो नदेखाइएको बताए। “हामीले सरसफाइ, खानेपानी र शौचालय सञ्चालनको विषयमा बारम्बार ताकेता गरेका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन,” उनले भने।
स्थानीय व्यापारी तथा उपभोक्ताहरूले हाटबजार व्यवस्थित बनाउन तत्काल सरसफाइ अभियान सञ्चालन, शौचालय नियमित प्रयोगमा ल्याउने, खानेपानी व्यवस्था गर्ने तथा बजार व्यवस्थापन समिति सक्रिय बनाउने माग गरेका छन्।
स्थानीय आर्थिक गतिविधिको मुख्य केन्द्र मानिएको गैडाटार हाटबजारमा आधारभूत सुविधा अभाव देखिनुले सम्बन्धित निकायको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले समस्या समाधानका लागि कस्तो पहल गर्छ भन्ने विषय स्थानीयको चासोको केन्द्र बनेको छ।

